काठमाडौं । गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने तय भएको निर्वाचनको तयारीलाई सहज बनाउन सबै पक्षसँग सहयोगको आग्रह गरेको छ। जेन–जी पुस्ताको अगुवाइमा भएको आन्दोलनपछि बनेको वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउनका लागि आवश्यक कामहरू अगाडि बढाइरहेको भन्दै मन्त्रालयले अनावश्यक धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रमहरू नगर्न अनुरोध गरेको हो।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले शुक्रबार जारी गरेको विज्ञप्तिमा हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा आन्दोलनका कार्यक्रम सार्वजनिक भइरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहहरूले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति र अराजकता फैलाउने सम्भावना देखिएको हुँदा आयोजकहरू समेत सचेत रहन आवश्यक छ।”
मन्त्रालयले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, श्रोत–साधनको व्यवस्थापन तथा राजनीतिक दलहरूसँग निरन्तर संवाद भइरहेको जानकारी पनि दिएको छ। साथै, जनताको शान्तिपूर्ण जीवन, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने अधिकार र निर्वाचनमा स्वतन्त्र रूपमा भाग लिन पाउने अधिकार कुण्ठित हुन नदिन सबै पक्षलाई जिम्मेवार हुन आग्रह गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “सरकार सबैका जायज माग र चासोलाई सम्बोधन गर्न सधैं तत्पर छ। त्यसैले धर्ना, जुलुस र आन्दोलनका सट्टा वार्ता तथा संवादका माध्यमबाट विधिसम्मत समाधान खोज्न सबै पक्षमा हार्दिक अनुरोध गर्दछौं।”











