काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका–१ जलकुनीमा मंगलबार दिउँसो लागेको भीषण आगलागीमा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (प्रनाउ) विक्रम लामाका अनुसार बलराम बलामीको घरबाट सुरु भएको आगलागी छेउको अर्को घरमा समेत फैलिँदा ठूलो क्षति पुगेको हो।
‘विद्युत् गडबडीका कारण लागेको आगलागीमा करिब एक करोड रुपैयाँ बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ,’ प्रनाउ लामाले जानकारी दिए। उनका अनुसार घटनामा नगद १० लाख रुपैयाँ, २५ लाख रुपैयाँबराबरको सुनचाँदीका गरगहना, १८ लाख रुपैयाँबराबरको अन्नबाली, लत्ताकपडा, भाँडावर्तनसहित दुईवटा ढुंगामाटोका घर पूर्णरूपमा ध्वस्त भएका छन्।
स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासमा आगो नियन्त्रणमा लिइए पनि मानवीय तथा पशुचौपाय क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ।
घरबारविहीन भएका पीडित परिवारलाई ककनी गाउँपालिकाले तत्कालका लागि अस्थायी बासको व्यवस्था मिलाएको छ। साथै, जिल्ला प्रशासन कार्यालय नुवाकोटले नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ भने रेडक्रस नुवाकोट शाखामार्फत गैरखाद्य (बन्दोबस्ती) सामग्री वितरण गर्न सिफारिस गरिएको छ।












