काठमाडौं । देशभर सुरक्षा निकाय परिचालन भएसँगै राजधानी काठमाडौँ लगायतका विभिन्न स्थानमा उत्पन्न भएको विषम परिस्थितिमा संलग्न २७ जना व्यक्तिलाई पक्राउ गरिएको छ।
सुरक्षा स्रोतका अनुसार, भदौ २४ गते राति १० बजेदेखि नेपाली सेना लगायतका निकाय परिचालन भएपछि भदौ २५ गते विहान १० बजेसम्म लुटपाट, आगजनी तथा जीउधनको क्षति गर्ने मनसायले गरिएको अराजक गतिविधिमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको हो।
आगजनी नियन्त्रणका लागि ३ वटा बारुण यन्त्र प्रयोग गरिएको छ भने काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट रु. ३३ लाख ७० हजार नगद बरामद गरिएको छ।
त्यसैगरी, काठमाडौँका विभिन्न स्थान र पोखराबाट गरी ३१ नाल हतियार, म्यागजिन तथा गोलीगठ्ठा बरामद भएको सुरक्षा निकायले जनाएको छ।
घटनामा संलग्न गतिविधि नियन्त्रणका क्रममा २३ जना प्रहरी घाइते भएका छन् भने ३ जना सर्वसाधारणलाई सैनिक अस्पतालमा उपचार गरिएको छ।












