एजेन्सी । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो पदबाट राजीनामा दिएका छन्। यस वर्ष जुलाईमा भएको निर्वाचनमा उनको सत्तारुढ गठबन्धनले संसदका दुवै सदनमा बहुमत गुमाएपछि राजीनामा दिने दबाब बढेको थियो।
६८ वर्षीय इशिबा लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को सुरक्षित नेताका रूपमा परिचित छन्। उनी सन् २०२४ सेप्टेम्बरमा पार्टी नेतृत्व जितेर सन् २००० पछि एलडिपीको १० औं प्रधानमन्त्री बनेका थिए।
मिडिया रिपोर्ट अनुसार, इशिबाले पार्टी विभाजन रोक्न र नेतृत्व परिवर्तनलाई सहज बनाउन राजीनामा दिने निर्णय गरेका हुन्। शनिबार राति कृषिमन्त्री र एक पूर्वप्रधानमन्त्रीले उनलाई स्वेच्छा पूर्वक पद त्याग गर्न आग्रह गरेका थिए भने गत हप्तामा पार्टीका नम्बर दुई हिरोशी मोरियामासहित चार वरिष्ठ अधिकारीले पनि राजीनामा दिन सुझाव दिएका थिए।
जुलाईमा भएको माथिल्लो सदनको निर्वाचनमा हारपछि विपक्षीले इशिबालाई चुनावी नतिजाको जिम्मेवारी लिएर पद त्याग गर्न दबाब दिएका थिए। इशिबाको कार्यकाल सन् २०२७ सेप्टेम्बरसम्म रहने प्रावधान भए पनि अब उत्तराधिकारीका लागि प्रतिस्पर्धा सुरु हुने भएको छ।












