काठमाडौं । चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले लिपुलेक विषयमा स्पष्ट रुपमा कुरा राख्न आग्रह गरेका छन्।
हालै भारत र चीनले नेपाललाई सोधपुछ नै नगरी नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति गरेका थिए। उक्त कदमप्रति नेपाल सरकारले गम्भीर आपत्ति जनाइसकेको छ। यसबीच सुरु भएको प्रधानमन्त्री ओलीको चीन भ्रमणमा यो मुद्दा मुख्यतया उठाइने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओली चीन प्रस्थान गरेलगत्तै मेयर बालेनले सामाजिक सञ्जालमार्फत चीन सरकारलाई लिपुलेक नेपालकै भूभाग भएको स्मरण गराउन आग्रह गरेका छन्।
चीन भ्रमणको शुभकामना दिँदै उनले लेखेका छन्, “भारत–चीनको सहमतिले नेपालको सार्वभौमिकतामाथि अतिक्रमण गरेको छ। लिपुलेक हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनुहोला। अल द बेस्ट, हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ।”












