अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–८ बारला क्षेत्रमा छाउ प्रथाका कारण त्रिपालमुनी बसिरहेका बेला भिरबाट खसेको ढुंगाले लागेर एक महिला र एक बालिकाको मृत्यु भएको छ । घटनामा एक महिला गम्भीर घाइते भएकी छन्।
मृत्यु हुनेमा स्थानकै ३५ वर्षीया निमदेवी खनाल र मंगलसेन नगरपालिका–६ घर भएकी सात वर्षीया कविता भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनामा मृतक कविताकी आमा ३६ वर्षीया रत्नकला भण्डारी गम्भीर घाइते भएकी छन्।
उनीहरूसँगै कविता पनि सुत्न गएकी थिइन्। निरन्तरको वर्षापछि घरमाथिबाट आएको ढुंगा लागेर उनीहरू दुबैको घटनास्थलमै मृत्यु भएको र रत्नकला घाइते भएको प्रहरीले जनाएको छ।
घाइते रत्नकलाको अवस्था गम्भीर रहेको र उपचारका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ।












