काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुल नजिकै पार्किङ गरिएको बसमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार गएराति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर सडकको पेटीछेउमा रोकिएको बसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा नवलपरासी सुनौल–१ घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय स्कुटर चालक शिरिस पौडेल र काभ्रेपलाञ्चोक पाचँकाल–२ का २३ वर्षीय नितेश नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते अवस्थामा दुवैलाई तत्काल उपचारका लागि ट्रमा सेन्टर पुर्याइएको थियो।
घटनामा संलग्न बस र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै, दोलखा भीनपा–७ स्थायी घर भई हाल काडाँघारी बस्ने अरनिको यातायातको बस चालक सुभाष तामाङलाई प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको जनाएको छ। मृतकका आफन्तहरू अस्पतालमा पुगेका छन्।












