डडेल्धुरा । नवदुर्गा गाउँपालिका–५, उकल्ली काणेमा बिहीबार बिहान करिब ८ बजे जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीका अनुसार, चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जीप करिब ४ सय मिटर तल खसेको थियो। दुर्घटनामा परेका अन्य ६ जना घाइते भएका छन् र उनीहरूलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ।
मृत्यु हुनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन्।
घाइते हुनेमा १८ वर्षीया सुशिला विक, ४ वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद छन्। घाइतेमध्ये सुशिला विक र जिप चालक रामबहादुर साउदको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त जीपमा चालकसहित १० जना सवार थिए। घटनाको थप अनुसन्धान भइरहेको छ।












