काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकविरुद्ध पहिलो चरणको आन्दोलन आजदेखि सुरु गरेको छ । घोषणा गरिएको कार्यक्रमअनुसार भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।
गत वैशाखमा एक महिनासम्म चलेको शिक्षक आन्दोलन सरकारसँग भएको ९ बुँदे सहमतिपछि स्थगित भएको थियो। तर, भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विद्यालय शिक्षा विधेयकमा ती सहमति प्रतिबिम्बित नभएको भन्दै महासंघ पुनः आन्दोलनमा उत्रिएको हो।
महासंघले यसअघि २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै आएको छ। साथै अस्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला पदपूर्ति (हालको ६०–४० को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद व्यवस्थापन, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकलाई उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण नगर्नुपर्ने लगायतका मागहरू अघि सारेको छ।
कार्यक्रमअनुसार भदौ ११ देखि २० सम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लास्तरमा २ घण्टे धर्ना दिइनेछ भने, भदौ २१ पछि दोस्रो चरणको कडा आन्दोलनका रूपमा धर्ना, अवरोध र विरोध प्रदर्शन गर्ने तयारी गरिएको महासंघले जनाएको छ।












