काठमाडौं । पानी पर्न थालेसँगै नेपालमा डेंगु सङ्क्रमण बढ्दै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार हालसम्म ३,२४७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो एक हप्तामा मात्र २११ जनामा डेंगु सङ्क्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ।
प्रदेश अनुसार सङ्क्रमितको विवरण यस प्रकार छ:
कोशी प्रदेश: ५६८
मधेश प्रदेश: ६२
बागमती प्रदेश: ६७५
गण्डकी प्रदेश: ९१४
लुम्बिनी प्रदेश: ५५१
कर्णाली प्रदेश: ९३
सुदूरपश्चिम प्रदेश: ३८४
डा. दाहालले पानी पर्ने क्रम जारी रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्। पानी जम्ने स्थानमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टे फुल पारेपछि त्यसबाट निस्किने लार्भाले वयस्क भएपछि टोकेपछि डेंगु रोग सर्ने हुन्छ।
डेंगु रोकथामका लागि सरकारले हरेक शुक्रबार लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गरिरहेको छ।
सन् २०२४ मा डेंगु सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो, जसबाट १५ जनाको मृत्यु र ४१,८६५ जना सङ्क्रमित भएका थिए।












