काठमाडौं । काठमाडौं बुढानीलकण्ठ नगरपालिका–७ स्पेसलचोक नजिक आइतबार राति मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल करिब राति १ः४५ बजे ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा सिरहा जन्दहका २९ वर्षीय भोला थापा र करिब ३५ वर्षका एक पुरुषको मृत्यु भएको छ। उनीहरूलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा राति २ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकमध्ये एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
सोही घटनामा गोरखा आरुपोखरी घर भई हाल बुढानीलकण्ठ–८ भंगाल बस्ने २४ वर्षीय एरिक परियारसहित तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको पहिचान खुल्न बाँकी छ भने उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












