काठमाडौँ । काठमाडौँको मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा तनावपूर्ण स्थिति सिर्जना भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले सरकारी जग्गामा बनेका संरचना हटाउने क्रममा बस्तीका बासिन्दासँग झडप भएको हो।
नगर प्रहरीले डोजर चलाउन थालेपछि बासिन्दाले ढुंगामुढा गरेका थिए, जसबाट केही नगर प्रहरी घाइते भएका छन्। घटनास्थलमा रहेका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार पटक–पटक सूचना दिए पनि अटेर गरेपछि बल प्रयोग गर्नु परेको हो।
महानगरले डोजर प्रयोग गरी करिब २० देखि २५ वटा घर र टहरा भत्काइसकेको छ। अहिले पनि क्षेत्रमा अवस्था तनावग्रस्त रहेकाले थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।












