काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्।
व्यक्तिगत कारण देखाउँदै उनले आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। विदेशमा रहेका कारण इमेलमार्फत हस्ताक्षर प्रमाणीकरण गर्न नसक्ने उनले बताएका छन्।
राजीनामा पत्रमा डा. कोइरालाले १६ अक्टोबर २०२५ सम्म केन्द्रमा उपस्थित हुन नसक्ने र आफ्नो व्यक्तिगत सामानबाहेक केन्द्रमा कुनै जरुरी वा गोप्य कागजात नरहेको उल्लेख गरेका छन्। उनले केन्द्रको प्रगति, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, हालका स्वास्थ्य मन्त्री प्रदीप पौडेल लगायतको सपना तथा स्वास्थ्य सेवाप्रति संघीय सरकारको प्रतिबद्धता निरन्तर रहोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन्।
गंगालाल अस्पतालमा २५ वर्ष बिताएका डा. कोइरालाले पत्रमा भनेका छन्, “शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्रका रूपमा देशलाई गौरवान्वित गर्ने मौका दिनेछ भन्नेमा विश्वास छ, र म यस्ता हरेक कार्यमा सल्लाह–सुझावका लागि उपलब्ध हुनेछु।”
तर, अस्पताल प्रशासनले भने डा. कोइरालाले औपचारिक राजीनामा नदिएको जनाएको छ। अस्पतालका प्रमुख डा. रवि मल्लका अनुसार, “उहाँको छोरी अमेरिकामा हुनुहुन्छ। छोरीसँग भेट गर्न भन्दै ४१ दिनको घरायसी बिदा मागेर जानुभएको हो।”
डा. कोइरालाले यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन दिएका थिए। सर्टलिस्टमा परे पनि सरकारले उनलाई नियुक्ति नदिएपछि असन्तुष्ट भई राजीनामा दिएको बुझिएको छ।













