काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिएपछि लामाले पदबाट बाहिरिने तयारी थालेका हुन्।
बिहीबार बूढानीलकण्ठस्थित निवासमा सभापति देउवाले लामालाई बोलाएर भेट गरेका थिए। भेटमा देउवाले दलको नेतामा पराजित भइसकेपछि विवाद नथप्न आग्रह गर्दै विधिसम्मत ढंगले मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए।
मुख्यमन्त्री लामाले सभापतिको निर्देशनपछि हेटौंडा फर्केर आफूनिकटका नेताहरूसँग परामर्श गरेका छन्। उनी निकट सांसद तीर्थ लामाका अनुसार मुख्यमन्त्रीले भोलिसम्ममा राजीनामा दिने मनस्थिति बनाइसकेका छन्।
“उहाँले सभापतिसँग हिजो कुरा गर्नुभएको छ, अब भोलिसम्ममा राजीनामा दिने तयारीमा हुनुहुन्छ,” तीर्थ लामाले जानकारी दिए।
कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भए पनि लामाले पद छोड्न अस्वीकार गर्दै आएका थिए। तर पार्टी नेतृत्वकै दबाबपछि उनी अन्ततः पछि हट्न तयार भएका हुन्।
मुख्यमन्त्री लामाले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता बानियाँको नेतृत्वमा बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।












