काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा उनले प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामालाई पराजित गर्दै दलको नेतृत्व हात पार्न सफल भएका हुन्।
प्रदेशसभा सचिवालय परिसरमा सम्पन्न निर्वाचनमा कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत प्राप्त गरे भने लामा १४ मतमा सीमित भए। १ मत बदर भएको थियो। निर्वाचनमा शतप्रतिशत मतदान भएको थियो।
यसअघि मंगलबार बानियाँ पक्षका सांसदहरूले दर्ता गराएको अविश्वास प्रस्तावमा पनि लामा अल्पमतमा परेका थिए। सो प्रस्तावमा बानियाँ पक्षले २२ मत समर्थनमा पाउँदा लामाले १५ मत मात्रै पाएका थिए। त्यसपछि उनले दल नेताको पद गुमाएका थिए।
बानियाँ र लामा बीच यो दोस्रोपटक भएको प्रतिस्पर्धा हो। २०७९ साल पुस १३ गते भएको पहिलो निर्वाचनमा बानियाँले १६ मत पाउँदा लामाले २१ मत ल्याउँदै जितेका थिए। करिब दुई वर्षपछि बानियाँले फेरि प्रतिस्पर्धा गर्दै यो पटक बहुमतसहित विजय हासिल गरेका हुन्।












