काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा लागुऔषध नियन्त्रण ब्यूरो तथा मातहत कार्यालयहरूद्वारा १,६७५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्। सो अवधिमा १,१३२ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्।
ब्यूरोका सह-प्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार, उक्त अवधिमा ठूलो परिमाणमा विभिन्न प्रकारका लागुऔषधहरू बरामद भएका छन्। बरामद लागुऔषधमा १८ किलो ९१९ ग्राम कोकिन, २५ किलो २३७ ग्राम हेरोइन, २८ किलो अफिम, २७२ ग्राम एम्फेटामाइन, ३ हजार २५० किलो चरेश/गाँजा, र थाइल्याण्डबाट आयात गरिएको २०७ किलो गाँजा उल्लेखनीय छन्।
त्यस्तै, औषधीजन्य नियन्त्रित लागुऔषधहरूमा,
५८,०५७ थान एम्पुल
१०,२८,१०२ थान ट्रामाडोल क्याप्सुल
१,१९,९८२ थान नाइट्रोभेट ट्याब्लेट
४७ लिटर कोडिन सिरप
८५४ ग्राम ईफ्रिड्रिन
१९१ पिस एलएसडी
बरामद गरिएको ब्यूरोले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषधको उत्पादन, सञ्चय, ओसारपसार, बिक्री वितरण तथा सेवनलाई आपराधिक कार्य मानेको हुँदा यस्ता कार्यमा संलग्न नहुन र अरुलाई पनि नलगाउन अनुरोध गरेको छ।












