काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढेको गाडी कैलालीको लम्कीमा एकआपसमा ठोक्किँदा सवारी साधनमा क्षति पुगेको छ। मंगलबार दिउँसो चिसापानीमा आयोजना भएको कटासे जलविद्युत आयोजना उद्घाटन कार्यक्रममा सहभागी हुन जाँदै गर्दा दुर्घटना भएको हो।
भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेको गाडी एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार, से.१ झ ३३० नम्बरको गाडीले पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडीलाई पछाडिबाट ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
ठक्करबाट पाल सवार गाडीको पछाडिको भाग र सार्की चढेको गाडीको अगाडिको भागमा क्षति पुगेको हो।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन।
उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिसापानीमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाँदै थिए।












