गाजा । इजरायल–हमास युद्ध सुरु भएको २२ महिनामा गाजामा भोकमरीका कारण कम्तीमा १२४ जनाको मृत्यु भएको छ, जसमध्ये ८१ जना बालबालिका रहेका छन्। केवल जुलाई महिनामै १६ बालबालिकासहित ४० जनाले भोकको कारण ज्यान गुमाएका छन्।
इजरायलले खाद्यान्न आपूर्तिमा कडाइ गरेपछि गाजाका बासिन्दा चरम भोकमरीको चपेटामा परेका छन्। स्थानीय पत्रकारहरूका अनुसार बालबालिका नुन चाटेर र पानी पिएर पेट भर्न बाध्य छन्।
गाजाबाट रिपोर्टिङ गरिरहेका एक स्थानीय पत्रकारले आफैंको तौल २१ महिनामा ३० किलोले घटेको बताएका छन्। उनी थकान र रिंगटा लाग्ने समस्यासँग जुधिरहेका छन्। गाजामा ५० ग्रामको बिस्कुटको मूल्य हजार रुपैयाँभन्दा बढी पर्न थालेको छ भने नगद झिक्न ४५ प्रतिशतसम्म कमिसन दिनुपर्ने अवस्था छ।
दक्षिण गाजास्थित सबैभन्दा ठूलो नासिर अस्पतालका स्वास्थ्यकर्मीका अनुसार पहिले हवाई आक्रमणबाट घाइते भएका नागरिकहरूको उपचार हुन्थ्यो, तर अहिले अस्पतालमा मुख्य रूपमा कुपोषणग्रस्त बालबालिका आउने गरेका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार गाजाको झन्डै एक तिहाइ जनसंख्या धेरै दिनमा केवल एकचोटि मात्र खाना खान पाउने अवस्थामा छन्।
भोकमरीका कारण उत्पन्न मानवीय संकटले चर्किंदै गएपछि इजरायली सेनाले गाजामा हवाई मार्गबाट मानवीय सहायता पुर्याउन सुरु गरेको छ। एक इजरायली सुरक्षा अधिकारीका अनुसार अन्तर्राष्ट्रिय दबाबपछि इजरायलले विदेशी सहायता हवाई मार्गबाट पठाउन अनुमति दिएको हो।
इजरायलका लागि अमेरिकास्थित राजदूत येचिएल लाइटरले आइतबारदेखि गाजाका लागि मानवीय कोरिडोर खोलिने जानकारी दिएका छन्। यसबाट गाजावासीको लागि राहत वितरण तीव्र बनाउने अपेक्षा गरिएको छ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले शान्ति होइन, मृत्यु खोजिरहेको टिप्पणी गरेका छन्। उनले इजरायललाई सैन्य कारबाही तीव्र बनाउन आग्रह गरेका छन्।
यसैबीच, गाजाको सरकारी मिडियाले इजरायली सेनामाथि गम्भीर आरोप लगाएको छ। गाजा ह्युम्यानिटेरियन फाउन्डेसन (GHF) ले बाँडेको पीठोका बोरा भित्र अक्सिकोडोन नामक लागूपदार्थका गोलीहरू भेटिएको दाबी गरिएको छ।












