भक्तपुर । भक्तपुरको थिमी नगरपालिका–८ स्थित बोडेस्थित सिन्टीटार क्षेत्रमा बिहीबार बिहान दुई किशोरी झुन्डिएको अवस्थामा मृत भेटिएपछि रहस्यमा परेको छ। १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सृजना कँडेलको मृत्युलाई लिएर अहिले विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।
तीन साताअघि भारतबाट नेपाल भागे
दुवै दिदीबहिनी भारतको महाराष्ट्र, मुम्बईस्थित मिरा भाइन्दरबाट करिब तीन साताअघि भागेर नेपाल आएकी थिए। उनीहरूको स्थायी ठेगाना भने सुर्खेतको पञ्चपुरी नगरपालिका–८ रहेको प्रहरीले जनाएको छ।
नेपाल आएलगत्तै उनीहरूले भक्तपुरको एक स्थानमा डेरा लिएर बस्न थालेका थिए। उनीहरू चक्रधर प्रजापतिको घरमा बस्दै आएका थिए।
मुम्बईमा भनेका थिए– “कम्प्युटर कक्षा जान्छौं”, तर गए बैंगलोर
मृतककी आमा उमा कँडेलका अनुसार मेनुका र सृजना घरबाट कम्प्युटर कक्षा जान्छौं भनेर हिँडेका थिए। पछि उनीहरूले भारतमै रहेका बाबुआमालाई भ्वाइस म्यासेज पठाएर भनेका थिए, “हामी बैंगलोर गयौं, पैसा कमाएपछि फर्किन्छौं।”
भक्तपुरमा पढ्ने बहाना, काम भने गार्मेन्टमा
नेपाल आएपछि भने उनीहरूले ‘यहाँ कलेज पढ्न आएको’ बताउँदै डेरा खोजेका थिए। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनीहरूले स्थानीय गार्मेन्टमा समेत काम गर्न थालेका थिए। यद्यपि, यसबारे थप पुष्टि गर्ने काम भइरहेको प्रहरीको भनाइ छ।
मृत्युको अघिल्लो रात टिकटक
दुवै किशोरीले मृत्यु हुनु अघिल्लो रात टिकटक भिडियो बनाएको प्रमाण फेला परेको छ। घटनास्थलबाट उनीहरूको मोबाइलसमेत प्रहरीले बरामद गरेको छ, जसबाट पछिल्लो गतिविधि ट्रेस गर्न खोजिँदैछ।
आत्महत्या कि हत्या?
मृत अवस्थामा फेला परेको तरिका झुन्डिएको भए पनि प्रहरीले यस घटनालाई आत्महत्या भनेर निष्कर्ष निकाल्न चाँडो नहुने बताएको छ। “मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम प्रतिवेदन कुर्नुपर्छ,” जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए।
परिवार काठमाडौँ आउँदै, शव पोस्टमार्टम तयारी
दुवै किशोरीका बुबा वासुदेव कँडेल काठमाडौँ आउँदै छन्। उनीहरू आइपुगेपछि कानुनी प्रक्रिया मिलाएर शव पोस्टमार्टमका लागि पठाइने जनाइएको छ।
घटनाले पारिवारिक र सामाजिक पक्षमा गहिरो चोट पु¥याएको छ। किशोरीहरूको नेपाल आगमन, काम, संचार, मानसिक अवस्था र मृत्युको समय एक–एक पाटो खुल्दै जाँदा घटनाको वास्तविकता के थियो भन्ने प्रश्नले थप गहिरो बनाउँदै लगेको छ।












