काठमाडौं । शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्षमुनिका बालबालिकालाई दिइँदै आएको निःशुल्क मुटुरोग उपचार सेवा हाल स्थगित भएको छ। सेवा रोकिएकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सिंहले सरकारले समयमै उपचार खर्चको भुक्तानी नगरेका कारण सेवा बन्द भएको दाबी गरे। सरकारको नीति अनुसार विपन्न वर्गका बालबालिकालाई प्रति व्यक्ति २ लाख ५० हजार रुपैयाँसम्मको सहायता अनुदान प्रदान गरिने भए पनि, गत आर्थिक वर्षको रकम अहिलेसम्म नआएको उनले जनाए।
“विपन्न वर्गका बालबालिकाका लागि यो सेवा जीवनरक्षाको माध्यम हो,” सांसद सिंहले भने, “भुक्तानी नपाएकै कारणले सेवा नै रोक्नु अत्यन्त दुःखद विषय हो। यो तुरुन्त सुचारु गर्नुपर्छ।” उनले यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षणसमेत गराएका छन्।
साथै सांसद सिंहले पछिल्लो समय चर्किएको भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म राप्रपाले संसद बैठक बहिस्कार गर्ने चेतावनी पनि दिएका छन्।
सिंहको भनाइले सरकारलाई तत्काल सक्रिय भई गङ्गालाल हृदयरोग केन्द्रमा पुनः निःशुल्क सेवा सुरु गर्न दबाब बढेको छ। साथै, भिजिट भिसा प्रकरण लगायत भ्रष्टाचारका मुद्दामा पारदर्शी अनुसन्धान प्रक्रिया अघि बढाउन समेत जनप्रतिनिधिहरूले जोड दिएका छन्।












