काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले आउँदो सिजन २ का लागि आफ्नो लोगोमा महत्त्वपूर्ण परिवर्तन गरेको छ।
एक प्रेस विज्ञप्ति जारी गर्दै टोलीले ‘चितवन’ शहरको पहिचानभन्दा ‘राइनोज’ अर्थात् गैंडाको प्रतीकलाई मुख्य प्राथमिकतामा राखेर नयाँ लोगो सार्वजनिक गरेको हो।
गत सिजनको लोगोमा शहरको पहिचानलाई केन्द्रमा राख्दै ‘चितवन’ शब्दलाई अगाडि राखिएको थियो। तर, यसपटक सार्वजनिक गरिएको लोगोमा ‘राइनोज’ अर्थात् गैंडालाई मुख्य प्रतीकको रूपमा प्रस्तुत गरिएको छ। टोलीले यो परिवर्तनलाई केवल डिजाइनमा मात्र नभई समर्पण र गर्वको झल्कोको रूपमा व्याख्या गरेको छ।
टोलीका अनुसार, गत सिजनमा मस्कट ‘मिस्टर गैंडा’ ले कमाएको अभूतपूर्व लोकप्रियताले फ्यानहरूको चाहनालाई स्पष्ट पारेको थियो। यही माया र समर्थनलाई कदर गर्दै नयाँ लोगोमार्फत फ्यानहरूको भावनासँग अझ नजिकिने प्रयास गरिएको विज्ञप्तिमा उल्लेख छ।
चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले नयाँ लोगो फ्यानहरूको रोजाइ र टिमको मर्मलाई स्पष्ट रूपमा देखाउने प्रयास भएको बताए।
‘नयाँ लोगो फ्यानहरूको रोजाइ र राइनोजको मर्मलाई अझ स्पष्ट ढंगले देखाउने प्रयत्न हो। मिस्टर गैंडाको लोकप्रियता हाम्रो लागि संकेत थियो,’ अध्यक्ष न्यौपानेले भने, ‘अब फ्यानहरू र गैंडाको पहिचान सँगसँगै लोगोको अगाडि रहनेछन्। भावना उही हो, तर यसको प्रस्तुति अझ स्पष्ट भएको छ।’
टोलीले नयाँ लोगोसहित सिजन २ मा अझ बलियो तरिकाले मैदानमा उत्रने तयारी गरेको जनाएको छ। लोगोमा रहेको गैंडा चितवनको मात्र नभई सिंगो देशकै गर्वको प्रतीक भएको भन्दै टोलीले यही भावनालाई आत्मसात् गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।












