काठमाडौं । वीर अस्पतालमा ७२ शय्याको आपत्कालीन (इमर्जेन्सी) कक्ष थपिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सोमबार उक्त जानकारी दिएका हुन्।
मन्त्री पौडेलका अनुसार अस्पतालको सेवा व्यवस्थापनलाई सुदृढ बनाउन ७२ शय्या थपिनेछ। “वीर अस्पताललाई व्यवस्थित गर्न ७२ बेडको इमर्जेन्सी शय्या थप्ने योजना बनाएका छौँ। त्यसको लागि आवश्यक बजेट पनि सुनिश्चित भइसकेको छ,” मन्त्री पौडेलले बताए।
उनका अनुसार डा. मदन उपाध्यायको संयोजकत्वमा बनेको समितिले पेश गरेको प्रतिवेदनका आधारमा सेवा सुधारका काम अघि बढाइएका छन्।
मन्त्री पौडेलले विपन्न नागरिकलाई स्वास्थ्य बिमामा जोड्ने योजना पनि अघि सारेका छन्। आठ प्रकारका जटिल रोगका बिरामीलाई सहज उपचार सुनिश्चित गर्न बिमा कार्यक्रममा समेट्ने तयारी भइरहेको उनले जानकारी दिए।
पछिल्लो एक वर्षको उपलब्धिबारे जानकारी दिँदै मन्त्री पौडेलले दीर्घकालीन योजना अन्तर्गत संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, आधारभूत अस्पतालको सञ्चालन, डेंगी नियन्त्रण, एचपीभी खोप कार्यक्रमको सफल कार्यान्वयन र जनस्वास्थ्य समिति गठन जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको बताए।
उनले देशभर योग तथा ध्यान कार्यक्रम विस्तार, विद्यालय नर्स कार्यक्रम सुरु, महामारी पूर्वतयारी र सुर्तीजन्य पदार्थमा चेतावनीमूलक सन्देश राख्ने निर्णय गरिएको जानकारी दिए।
त्यस्तै, प्रदेशस्तरमा मुटु, क्यान्सर र जलन उपचार सेवाको विस्तार गरिएको, प्रथम स्वास्थ्य विन्दु सञ्चालनमा सहजता ल्याइएको र एक महिनाभित्र स्वास्थ्य बिमा सुरु गरिएको दाबी गरे।
मन्त्री पौडेलले एमआरआई, PET स्क्यान र क्याथ ल्याब जस्ता आधुनिक उपकरणका लागि पर्याप्त बजेट व्यवस्था गरिएको बताए।
उनका अनुसार हालसम्म ११३ वटा आधारभूत अस्पतालको निर्माण सम्पन्न भइसकेको छ भने थप ५५ वटा अस्पताल सञ्चालनको तयारीमा छन्। चालु आर्थिक वर्षमा थप १३७ अस्पताल निर्माण हुने गरी कुल २५० अस्पताल निर्माणको लक्ष्य राखिएको छ, जसका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।












