काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ। पार्टी विधानका विषयमा छलफल गर्नका लागि बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो।
बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा पारित गर्ने कार्यसूची छ। पार्टी उपाध्यक्ष तथा विधान मस्यौदा समिति संयोजक विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोबाट पारित भएको मस्यौदा आजको बैठकमा पेश गर्ने छन्।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोमा धारणा राखिसकेका नेताहरूलाई आजको बैठकमा बोल्ने अवसर नदिइनेछ। २३० जना जति केन्द्रीय सदस्य मात्र आजको छलफलमा धारणा राख्ने छन्, जसका लागि प्रतिव्यक्ति तीन मिनेटको समय छुट्याइएको छ।
बैठकको सुरुमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्था, सरकारको एक वर्षको कामको समीक्षा तथा सचिवालय र पोलिटब्युरो बैठकका निष्कर्षबारे मन्तव्य दिने कार्यक्रम छ। त्यसपछि महासचिवले सांगठनिक अवस्थाबारे जानकारी गराउनेछन्।
साउन १, २ र ३ गते बसेका पार्टीका सचिवालय र पोलिटब्युरो बैठकहरूले ७० वर्षे उमेर सीमा र एउटै पदमा दुई कार्यकालको सर्त हटाइसकेका छन्।
एमालेको विधान महाधिवेशन आगामी भदौ २०–२२ गते ललितपुरको गोदावरीमा हुने तय भएको छ। आज र भोलिभित्र बैठक सक्ने भनिए पनि सबै सदस्यले धारणा राखेमा बैठक पर्सीसम्म लम्बिने सम्भावना छ।













