काठमाडौं । अडियो काण्डमा विवादित बनेका पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छलफलका लागि बोलाएको छ। आयोगका एक अधिकारीका अनुसार गुप्तालाई भोलिसम्म आयोगमा उपस्थित हुन सूचना दिइएको हो।
हालसम्म अख्तियारले यसबारे आधिकारिक पुष्टि नगरेको भए पनि, प्रवक्ता राजेन्द्रकुमार पौडेलले सामान्य प्रक्रिया अन्तर्गत बोलाइएको हुनसक्ने बताएका छन्। अख्तियारका एक कर्मचारीका अनुसार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राजीनामा दिएका गुप्तालाई “इन्क्वायरी” (सोधपुछ) प्रक्रियाका लागि बोलाइएको हो। उनले भने, “अडियो काण्डमा उनको आवाज रहेको आशंकामा सोधपुछ हुनसक्छ।”
यसअघि सार्वजनिक भएको एक अडियो टेपमा गुप्ताको संलग्नता रहेको आशंका गरिएको थियो, जसमा सरकारी निर्णय प्रभावित पार्ने प्रयासको संकेत पाइएका थिए।












