काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा ७० वर्ष उमेरहद, दुई वर्षे कार्यकाल, र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणबारे नेताहरूले धारणा राखेका छन्।
शनिबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकमा हालसम्म ३२ जना स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले बोलिसकेका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बाँकी ४० जनाले बोलेपछि बैठक आजै सकिनेछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक आजै सक्ने निर्देशन दिएका छन्।
बैठकमा पार्टी संरचनाबारे पनि नयाँ प्रस्तावहरू आएका छन्। अब सचिवालय हटाएर स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी मात्रै राखिनेछ।
अहिले ३०१ सदस्यीय रहेको केन्द्रीय कमिटीलाई घटाएर २५१ बनाइने प्रस्ताव छ। पदाधिकारी संख्या १९ बाट घटाएर १५ बनाइनेछ। वरिष्ठ उपाध्यक्षको पद हटाएर पहिलो वरीयतामा उपाध्यक्ष राखिने व्यवस्था गरिनेछ।
यी सबै प्रस्तावहरू साउन ५ गते हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ। एमालेको दोस्रो विधान महाधिवेशन भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा हुने तय छ।












