ललितपुर । नेकपा एमालेको पोलिटब्युरो बैठक स्थगित गरिएको छ। अब उक्त बैठक भोलि (शनिबार) बिहान ११ बजे बस्ने तय गरिएको छ।
ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा आज सात जना नेताहरूले पार्टी विधान मस्यौदामाथि आफ्ना धारणा राखेका थिए।
पार्टीको विधानमा प्रस्तावित ७० वर्षे उमेर हद, दुई कार्यकालको सीमा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश लगायतका विषयमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
भोलिको बैठकमा अन्य पोलिटब्युरो सदस्यहरूले पनि आफ्नो धारणा राख्ने क्रमलाई निरन्तरता दिइनेछ। विधान मस्यौदामाथि व्यापक छलफलपछि अन्तिम निर्णय लिने तयारी एमालेले गरेको छ।












