काठमाडौं । सरकारले स्वास्थ्य बीमा सेवाको पहुँचलाई सहज र छिटो बनाउन बीमा सेवा सुरु हुने समय घटाएको छ। अब बीमा गरिएको एक महिनाभित्रै उपचार सुविधा प्राप्त गर्न सकिनेछ।
स्वास्थ्य बीमा नियमावली, २०७५ को पहिलो संशोधन अनुसार, बीमित व्यक्ति दर्ता भएको महिनापछि तेस्रो महिनाको पहिलो दिनबाट मात्र सेवा लिन सक्ने पुरानो व्यवस्था खारेज गर्दै नयाँ प्रणाली लागू गरिएको हो।
स्वास्थ्य बीमा बोर्डले आउँदो १ साउनदेखि लागू हुने गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो। बोर्डका सूचना अधिकृत विकेश मल्ल ठकुरीले नयाँ व्यवस्थाले बिमित व्यक्तिलाई सेवा लिनका लागि लामो समय कुर्नु नपर्ने र तत्काल उपचारको पहुँच पाउने वातावरण बनाएको बताए। यसअघि बीमा आबद्ध नागरिकले उपचार सेवा लिन ४ महिनासम्म कुर्नुपर्ने बाध्यता थियो।
बिमितको पक्षमा सहजता
यो निर्णयसँगै अब बिमितले बीमा गरेपछि एक महिनाभित्रै अस्पताल तथा स्वास्थ्य सेवाबाट लाभ लिन सक्नेछन्। स्वास्थ्य बीमाको पहुँच र प्रभावकारिता विस्तार गर्ने लक्ष्यका साथ सरकार अगाडि बढेको छ।
विशेषगरी विपन्न, ग्रामीण तथा नियमित उपचारमा कठिनाइ भोग्ने नागरिकहरूका लागि यो नयाँ व्यवस्था राहतदायी हुने विश्वास गरिएको छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी, जनमैत्री र सहज बनाउन बोर्डले आगामी दिनमा थप सुधार ल्याउँदै जाने प्रतिबद्धता जनाएको छ।












