काठमाडौं । अब सवारी चालकले सडकमा चार विशेष प्रकारका ट्राफिक नियम उल्लङ्घन गर्दा ट्राफिक प्रहरी कार्यालयमा गई कक्षा लिनुपर्ने बाध्यता हटेको छ।
गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा ‘अनलाइन ट्राफिक सचेतना कक्षा’ शुभारम्भ गरेसँगै यो सुविधा देशभर लागू भएको हो।
ट्राफिक प्रहरीको अनुसार अब मादक पदार्थ सेवन, रातो बत्तीमा सवारी चलाउने, लेन क्रस गर्ने र तीव्र गतिमा सवारी दौडाउन जस्ता गल्ती गर्नेहरूले घर वा कार्यालयमै बसेर अनलाइनमार्फत सचेतना कक्षा लिन सक्नेछन्।
अनलाइन प्रणालीको विकास ज्ञान बजारसँगको सहकार्यमा गरिएको हो।
यसरी लिन सकिन्छ अनलाइन कक्षा
ट्राफिक नियम उल्लङ्घन गरेपछि सचेतना कक्षा लिनका लागि नागरिकले निम्न प्रक्रिया अपनाउनु पर्नेछ:
१. नागरिक एप डाउनलोड गरेर ‘ट्राफिक सचेतना कक्षा’को लिङ्क थिच्ने।
२. ‘Take Online Class’ भन्ने विकल्प रोज्ने।
३. नियम, शर्त (Terms and Conditions) पढेर ‘कक्षामा सामेल हुनुहोस्’ विकल्प रोज्ने।
४. ‘फोटो लिनुहोस्’ विकल्पबाट दुवै कान देखिने फोटो अपलोड गर्ने।
5. थ्रेसहोल्ड हेरेर कक्षा पुरा गर्ने।
6. कक्षा सकिएपछि ६ प्रश्नमध्ये ३ सही उत्तर दिनुपर्ने।
7. सफल भएपछि ‘Take Online Class’ बाट सेवाग्राही स्वतः हट्नेछन्।
जरिवाना अनिवार्य
सचेतना कक्षा लिने अघि कसुर अनुसारको जरिवाना तिर्नुपर्नेछ। जरिवाना तिरेपछि मात्र नागरिक एपमार्फत अनलाइन कक्षा लिन सकिन्छ।
डिजिटल माध्यमबाट ट्राफिक सचेतना
प्रहरी प्रधान कार्यालयका एआईजी सिद्धि विक्रम शाहका अनुसार, नयाँ प्रणालीले सेवाग्राहीको समय र श्रम बचत हुने तथा सेवामा पारदर्शिता र सहजता बढ्ने अपेक्षा गरिएको छ।
यो प्रणाली ट्राफिक प्रशासनमा डिजिटलीकरणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।












