काठमाडौं । सिमलतालमा गएको वर्ष असार २८ गते पहिरोसँगै त्रिशूली नदीमा खसेका दुईवटा यात्रुबाहक बसका ३९ जना यात्रु एक वर्ष बितिसक्दा पनि अझै बेपत्ता छन्। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने सिमलतालबाट खसेका बसका यात्रुहरू अझै फेला नपरेका हुन्।
उक्त दुर्घटनामा दुईवटा बसमा गरी ६२ जना यात्रु सवार थिए। तीमध्ये तीन जना जीवित उद्धार गरिएको थियो भने २० जनाको शव फेला पारिएको थियो। बाँकी ३९ जना अझै हराइरहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार, बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना सवार थिए। तीमध्ये १० जनाको शव फेला पर्यो भने १६ जना अझै बेपत्ता छन्। उक्त बसमा सवार ७ जना भारतीयमध्ये २ जनाको शव फेला परेको थियो भने ५ जना बेपत्ता छन्।
त्यस्तै, बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा ३६ जना यात्रु सवार थिए। तीमध्ये ३ जना जीवित उद्धार गरिए, १० जनाको शव भेटिएको र बाँकी २३ जना अझै बेपत्ता छन्। तीमध्ये ४ जना भारतीय नागरिकसमेत थिए, जसमा ३ जनाको शव भेटिएको थियो भने १ जना अझै हराइरहेका छन्।
वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स बस पहिरोसहित त्रिशूलीमा खसेका थिए।
शुरुवातमा नेपाली गोताखोरमार्फत खोजी कार्य भए पनि सफल हुन नसकेपछि विदेशबाट समेत गोताखोर बोलाइएको थियो। तर, सबै प्रयास विफल भए। त्रिशूली नदीमा बाढी बढेपछि खोजी कार्य थप जटिल बनेको थियो। त्यसबेलाका २० जना मृतकहरू त्रिशूली तथा नारायणी नदी किनारबाट फेला परेका थिए भने दुईवटा शव भारततर्फ बगिएको अवस्थामा भेटिएको थियो।
घटनापछि तत्कालीन गृहमन्त्री रमेश लेखकले सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए। कार्यदलले विपद् व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायलाई सक्रिय हुन सुझाव दिएको थियो।
कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा दुर्घटनाको मुख्य कारण पहिरो र बाढी रहेको उल्लेख गरिएको छ। साथै, सडक निर्माणमा इन्जिनियरिङ डिजाइन् नअपनाई जोखिमपूर्ण भूगोलमा सडक विस्तार गरिएको, क्रस स्लोप उच्च भएको, तथा पर्खाल नबनाइएकाले वर्षातमा पहिरो जाँदा बस त्रिशूलीमा खसेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
गृहमन्त्री लेखकले प्रतिवेदनलाई पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए।












