काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक साधारण सभा बैठकले ८९ हजार १ सय ९१ विद्यार्थीको समावेश रहेको ६३औँ ग्रेसलिष्ट पारित गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले प्रस्तुत गरेको ग्रेसलिष्टलाई अनुमोदन गरिएको हो। विभिन्न संकाय र तहमा उत्तीर्ण भएका विद्यार्थीहरू यसमा समावेश छन्।
बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि त्रिविको बजेट तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। कुलपति ओलीले विश्वविद्यालयलाई २१औँ शताब्दीअनुसार प्रतिस्पर्धी, आधुनिक र सक्षम शैक्षिक संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले शैक्षिक गुणस्तर सुधार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वविद्यालयको छवि बलियो बनाउनु आवश्यक रहेको उल्लेख गरे।
सहकुलपति तथा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियानमा शिक्षाले महत्त्वपूर्ण योगदान दिनुपर्ने बताए। विश्वविद्यालयले नीति निर्माणदेखि कार्यान्वयनसम्म त्यसलाई ध्यानमा राख्नुपर्ने उनको भनाइ थियो।
नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले त्रिविमा अध्ययनरत विद्यार्थीको कुल संख्याको कम्तीमा एक प्रतिशत (झण्डै ४ हजार) विदेशी विद्यार्थी भर्ना हुने गरी योजना बनाउनुपर्ने बताए।












