काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सरकारले अब ८ प्रकारका गम्भीर रोगका बिरामीहरूलाई २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार सुविधा दिने घोषणा गरेको छ।
साउन १ गतेदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार क्यान्सर, मुटु रोग, मृगौला समस्या, टाउको चोट (हेड इन्जुरी), मेरुदण्डको चोट (स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर रोग भएका बिरामीहरूले स्वास्थ्य बीमा कार्यक्रममार्फत यो सेवा पाउनेछन्।
सरकारले यसलाई स्वास्थ्य बीमाको क्षेत्रमा ‘अर्को महत्त्वपूर्ण पाइला’ भन्दै जनताको उपचार पहुँचलाई अझ प्रभावकारी बनाउने दाबी गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार, ‘कडा रोग लागेर खर्च जुटाउन नसकेका नागरिकलाई राहत दिने सोचसहित यो कार्यक्रम अघि बढाइएको हो।’ मन्त्रालयले स्वास्थ्य बीमालाई थप परिस्कृत गर्दै सर्वसाधारणको पहुँच सुनिश्चित गर्न निरन्तर प्रयास भइरहेको पनि स्पष्ट पारेको छ।












