काठमाडौँ । नेपाल चिकित्सक संघले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ। संघले स्वास्थ्य सेवामा प्रभाव पार्ने गरी चरणबद्ध आन्दोलन अगाडि बढाउने बताएको छ।
संघका महासचिव डा. सञ्जिव तिवारीले शुक्रबार जानकारी दिँदै संघले आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको जनाएका छन्। साथै, आगामी असार २४ गते मंगलबार संघका सदस्य चिकित्सकहरू मेडिकल काउन्सिलमा प्रमाणपत्र बुझाउने कार्यक्रमसमेत तय गरिएको छ।
संघले विगतदेखि नै चिकित्सकमाथि हुने आक्रमण र अव्यवस्थित नीतिका विरुद्ध आवाज उठाउँदै आएको छ। तर मागहरू सम्बोधन नभएकाले आन्दोलनलाई थप तीव्र पार्नुपरेको संघले जनाएको छ।
चिकित्सक संघले जनताको स्वास्थ्य अधिकारप्रति संवेदनशील रहेको जनाउँदै आन्दोलनका क्रममा आकस्मिक सेवा भने सुचारु रहने स्पष्ट पारेको छ।













