काठमाडौं । नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। बिहीबार क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा सम्पन्न सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियामाथि ९ विकेटको सानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो।
मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले मात्र ११.४ ओभरमै पूरा गर्यो। नेपाली टोलीका ओपनर परिमार्जन यादवले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ५९ रन बनाए।
त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाको टिम ४३.१ ओभरमा ९० रनमै अलआउट भएको थियो। मलेसियाका लागि मोहमद फाथुल मुइनले ३८ रन बनाए भने कप्तान डियान पट्रोले १० रनको योगदान दिए। बाँकी ब्याटरहरू दोहोरो अंकमा पनि पुग्न सकेनन्।
नेपालका लागि शुभम् खनालले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। त्यस्तै, सचिन भट्टले २ र विपिन शर्माले १ विकेट लिए।
नेपाल अब आजै हुने दोस्रो सेमिफाइनलको विजेता—हङकङ वा सिङ्गापुरसँग उपाधिका लागि भिड्नेछ। नेपाली यू–१६ टोलीको फाइनल यात्रा युवा प्रतिभाको सफल उदयको संकेतस्वरूप लिइएको छ।












