काठमाडौं । लिओनल मेस्सीको नेतृत्वमा रहेको अमेरिकी क्लब इन्टर मियामी क्लब विश्वकपको प्रि–क्वाटरफाइनलमै प्रतियोगिताबाट बाहिरिएको छ।
एटलान्टामा सम्पन्न अन्तिम १६ को भिडन्तमा मेस्सीको पूर्वक्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) सँग ४–० को लज्जास्पद हार बेहोर्दै इन्टर मियामीको यात्रा समयमै टुंगिएको हो। खेलको पहिलो हाफमै पीएसजीले निर्णायक चार गोल गर्दै मियामीलाई पाखा लगायो।
नेभेसको दबदबा, आत्मघाती गोलले थप पीडा
खेलको छैटौं मिनेटमै अनमार्क अवस्थामा रहेका जोआओ नेभेसले हेडरमार्फत पीएसजीका लागि पहिलो गोल गरे। त्यसपछि ३६औं मिनेटमा उत्कृष्ट पासिङ मूभको उपसंहार गर्दै नेभेसले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए।
४४औं मिनेटमा इन्टर मियामीका थमस अविलेसले आफ्नै पोस्टमा गोल गरेपछि अवस्था झनै खराब बन्यो। पहिलो हाफको इन्ज्युरी समयमा अचार्फ हाकिमीले चौथो गोल गर्दै मियामीको पुनरागमनको ढोका नै बन्द गरे।
पीएसजी क्वाटरफाइनलमा
अब पेरिस सेन्ट–जर्मेनले क्लब विश्वकपको क्वाटरफाइनलमा फ्लामेन्गो र बायर्न म्युनिखबीच हुने भिडन्तको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
एकातिर इन्टर मियामीका लागि यो हार निराशाजनक रह्यो भने अर्कातिर पीएसजीले पुनः विश्वकपको उपाधि यात्रामा बलियो पाइला टेकेको छ।












