काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित सुवर्ण मार्गमा सञ्चालनमा रहेको ‘कडक चिया क्याफे’मा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ। महानगर प्रहरीको पूर्वी क्षेत्र कमान्ड टोलीले शुक्रबार उक्त क्याफेको संरचना भत्काएको हो।
महानगर प्रहरीका अनुसार वडा नं. १० मा पर्ने सो क्याफेले अनुमति विना, नक्सा पास नगरी अस्थायी संरचना बनाएको र त्यही संरचनाभित्र गैरकानुनी गतिविधि भइरहेको गुनासो स्थानीयबाट बारम्बार आएको थियो। १० असारमा दिउँसै क्याफेभित्र केही युवाहरूले मदिरा सेवन गरी झगडा गरेको, झगडाका क्रममा रक्तपातसमेत भएको घटना सार्वजनिक भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
त्यसपछि बुद्धनगर टोल सुधार समितिका अध्यक्ष प्रियनाथ खनाल नेतृत्वको टोलीले ११ असारमा वडाध्यक्ष रामकुमार केसीसमक्ष लिखित निवेदन दिँदै शान्ति सुरक्षाको माग गरेका थिए।
वडा अध्यक्ष केसीले महानगर प्रहरीको पूर्वी कमान्डलाई पत्राचार गरी संरचनाबारे छानबिन गराउँदा, उक्त क्याफे अवैध रूपमा निर्माण भएको पुष्टि भएको महानगर प्रहरीका पूर्वी क्षेत्र कमान्डर एसपी दिनेश अर्यालले बताए।
अर्यालका अनुसार, नगरको कानूनी प्रक्रिया नअपनाई सञ्चालनमा आएको क्याफेले स्थानीय बासिन्दालाई हैरानी दिने कार्य गर्दै आएको प्रमाणित भएपछि संरचना भत्काइएको हो।












