काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि टिकटकमार्फत गालीगलौज गरेको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेतलाई काठमाडौं जिल्ला अदालतले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विद्युतीय कारोबार ऐनअन्तर्गत बुधबार बस्नेतविरुद्ध एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्मको कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। बिहीबार न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले थुनछेक बहसपछि बस्नेतलाई धरौटीमा छाड्न आदेश दिएको हो।
सामाजिक सञ्जालमा सार्वजनिक व्यक्तित्वमाथि अपमान
गत असार १ गते पक्राउ परेकी बस्नेतमाथि, सामाजिक सञ्जाल टिकटक प्रयोग गरेर प्रधानमन्त्री, गृहमन्त्री र सांसद थापालाई अपमानित गर्दै द्वेष फैलाएको आरोप लागेको थियो।
बयानका क्रममा उनले गृहमन्त्री लेखकविरुद्धको भिडियो भिजिट भिसा प्रकरणमा अनुसन्धान नगरेको विरोधस्वरूप बनाएको र गगन थापाविरुद्ध प्रमाण प्रस्तुत नगरेको भन्दै चित्त नबुझेर प्रतिक्रिया जनाएकी बताएकी छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्याय दिनुपर्छ भन्ने सन्दर्भमा पनि टिकटक बनाएको उल्लेख गरेकी छन्।












