काठमाडौं । भारतको हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा एक जना नेपाली युवक पक्राउ परेका छन्। हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको आरोपमा पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार, हत्यापछि प्रेमिकाको शव लगेज ब्यागमा हालेर सुनसान स्थानमा फालेका भेटिएको छ।
हत्यामा संलग्न रहेको आरोपमा ३० वर्षीय नेपाली नागरिक विजय टोप्पा उर्फ विल्सनलाई पक्राउ गरिएको हैदराबाद प्रहरीले जनाएको छ। विजयले ताराको हत्या गरी ट्राभल ब्यागमा शव हालेर फालेको भेटिएपछि जुन ४ मा घटनाको खुलासा भएको इन्डिया टुडेले उल्लेख गरेको छ।
विजयसँग फेसबुकमार्फत चिनजान भएपछि तारा अप्रिल १५ मा हैदराबाद गएर लिभिङ टुगेदरमा बस्दै आएका थिए। विजय एक स्थानीय रेष्टुरेन्टमा कार्यरत सेफ हुन्। तारा विवाहित र दुई छोराछोरीकी आमा थिइन्।
मे २३ मा तारा गर्भवती भएको विषयमा विवाद हुँदा विजयले नाइलन झोलाको डोरीले घाँटी थिचेर उनको हत्या गरेको प्रहरीको भनाइ छ। स्थानीय चौकीदारले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले पाँचवटा विशेष टोली बनाएर आरोपीको खोजी थालेको थियो। सीसीटीभी फुटेज र प्राविधिक प्रमाणको आधारमा विजयलाई मेडचल जिल्लाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।












