काठमाडौं । काठमाडौं प्रशासनले नारायणहिटी दरबार आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेश पत्रमा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहलाय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र शालिक हुँदै संग्रहालयको दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरेका हुन्।
राजावादीहरू सडक प्रदर्शनमा सक्रिय भएपछि प्रशासनले निषेधित क्षेत्र तोकेको हो। पछिल्लो समय राजावादीहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन्। त्यस्तै केही दिनअघि मात्रै पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी परिसरमा गएका थिए। त्यस्तै उनी जेठ १९ गते पनि नारायणहिटी दरबार जाने तयारी रहेको बताइएको छ। त्यसअघि प्रशसनले नारायणहिटी संग्रहालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो।













