एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशस्थित आफ्ना राजदूतावासहरूलाई नयाँ विद्यार्थी भिसा ‘स्टुडेन्ट भिसा’ अन्तर्वार्ता रोक्न निर्देशन दिएको छ ।
विद्यार्थी भिसा प्रक्रियामा सामाजिक सञ्जालमार्फत विस्तृत छानबिन गर्न लागिएको भन्दै यस्तो निर्णय लिइएको हो ।
राजनीतिक मिसनहरूलाई पठाइएको सूचनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले “पुनः निर्देश नआएसम्म” विद्यार्थी भिसा अन्तर्वार्तामा रोक लगाउने स्पष्ट गरेका छन् ।
उक्त सन्देशमा विशेषगरी अन्तर्राष्ट्रिय विद्यार्थी र साटासाँट कार्यक्रममा सहभागी हुने व्यक्तिहरूको सामाजिक सञ्जाल चेकजाँच थप कडा पारिने उल्लेख छ ।
यसले विश्वभर रहेका अमेरिकी दूतावास तथा वाणिज्यदूतावासहरूलाई ठूलो असर पार्ने अधिकारीहरूको भनाइ छ ।
यो कदम राष्ट्रपति ट्रम्पको अमेरिका भित्रका केही नामी विश्वविद्यालयहरूसँगको तिक्त सम्बन्धबीच आएको हो । ट्रम्पले ती संस्थाहरूमा यहूदीविरोधी गतिविधि मौलाएको र उनीहरूले विभेदकारी भर्ना प्रणाली अपनाएको आरोप लगाउँदै आएका छन् ।
बीबीसीसँग सहकार्यमा रहेको सीबीएस न्यूजद्वारा प्राप्त गरिएको एक गोप्य ज्ञापन अनुसार अमेरिकी दूतावासहरूलाई अबदेखि विद्यार्थी भिसाको लागि नयाँ अन्तर्वार्ता तय नगर्न भनिएको छ । यद्यपि, पहिल्यै तोकिएका अन्तर्वार्ताहरू भने यथावत् सञ्चालन हुने जनाइएको छ ।












