काठमाडौं । वर्षाका कारण डाइभर्सनहरू बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार, रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती खोला नजिकै डाइभर्सन बगाएको छ ।
डाइभर्सन बगाएपछि अहिले बीपी राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन रोकिएको छ । रोशी गाउँपालिका–११ कालढुंगास्थित भ्याकुरे खोलामा एउटा ईभी भ्यान फसेको प्रहरीले जनाएको छ । त्यस्तै,नमोबुद्ध नगरपालिका–६ र रोशी ७ जोड़ने हिमपाइप राखेर बनाइएको सडक बगाएको छ । गत असोजमा सोही ठाउँमा पक्की पुल बगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी कोमल शाहका अनुसार यात्रुहरूलाई होटलसम्म पुग्नेगरी व्यवस्था मिलाउन अहिले प्रहरीका विभिन्न युनिटबाट टोली खटिएको छ ।
यसैबीच आजै दिउँसो काभ्रको पनौतीस्थित कूलोमा आएको बाढीमा परेर एक जना महिला बेपत्ता भएकी थिइन् ।












