काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर गर्न पुगे लगत्तै तनावको स्थिति सृजना भयो । साढे तीन महिनापछि कार्यालय फर्किएका प्रशासकीय अधिकृत गुरागाईँलाई मेयर बालेन्द्र साहबाहेकका जनप्रतिनिधिहरूले स्वागत गरेका थिए ।
तर कार्यालय प्रवेश गरेपछि पनि गुरागाईं आफ्नो कार्यकक्षमा बस्न सकेनन् । मेयर साहले उनको कार्यकक्ष लक गरिदिएका थिए । यसबिच उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अहिले बैठक चलिरहेको छ ।
बिहीबार नगर प्रहरीको अवरोध असफल भएपछि गुरागाईं कार्यालयमा हाजिर भएका हुन् । गत पुस ७ गतेदेखि बिदामा रहेका गुरागाईंपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका गोविन्दप्रसाद शर्माले राजीनामा दिएपछि महानगर प्रशासन नेतृत्वविहीन अवस्थामा पुगेको छ ।
प्रमुख प्रशासकीय अधिकृतको अभावमा तलब नपाएको भन्दै महानगरका कर्मचारीहरू आक्रोशित बनेका छन् । उनीहरूले गुरागाईंलाई पुनः पदमा स्थापित गराउने अडान लिएका छन् ।












