काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको १७औं डिस्ट्रिक्ट कन्फ्रेन्स चैत्र ८ देखि १० गतेसम्म ललितपुरको पुल्चोकस्थित द प्लाजामा सम्पन्न भएको छ ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को एक महत्वपूर्ण केन्द्रीय कार्यक्रमका रुपमा रहेको यो सम्मेलनले आम रोटरियनका विचमा चिनजान, रोटरी बारेको ज्ञानको विस्तारदेखि नयाँ नेतृत्व समेत चयन गरेको छ ।
सम्मेलनमा देशभरका रोटरी क्लबका सदस्यहरुको उल्लेखनीय उपस्थिति थियो । सम्मेलनमा विदेशी अतिथि रोटरियन देखि विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुको समेत विशेष उपस्थिति रहको थियो ।
१७औं डिस्ट्रिक्ट कन्फ्रेन्समा डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान अन्र्तगतका १५८ वटा रोटरी क्लबका करिब १२ सय भन्दा बढि रोटरियनको उपस्थिति रहको जनाईएको छ । सम्मेलनमा रोटरी इन्टरनेशनल अध्यक्षका प्रतिनिधी देखि स्थानीय सरकारका प्रमुख, विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तित्व, रोट्रयाक्ट, इन्ट्रयाक्ट, नागरिक समाज, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो ।
सम्मेलनमा दर्जनौ वक्ताहरुले आ आफ्नो क्षेत्रका बारेमा बताएका थिए भने सम्मेलनका सहभागीले राखेका जिज्ञासाको जवाफ दिएका थिए । सम्मेलनमा रोटरीको इतिहास, वर्तमान र आगामी कार्यदिशाका सन्दर्भमा बृहत्तर छलफल भयो ।
रोटरीप्रतिको आकर्षण, सदस्यता मामिला, सेवा परियोजना, आर्थिक सामुदायिक विकास, शिक्षा, स्वास्थ्य , वातावरण, रोटरी भित्र खोजदै गरेको विविधता, समता र समावेशीता, महिला लगायत युवा नेतृत्व विकास एवं नेतृत्व हस्तान्तरणका बारेमा समेत सम्मेलनमा छलफल भएको थियो ।

रोटरीको सार्वजनिक छवि विस्तार, रोटरी फाउण्डेशनको महत्वबारेको बहस देखि सम्मेलनमा वार्षिक आर्थिक प्रतिवेदनका साथ नयाँ नेतृत्व समेत सम्मेलनले चयन गर्यो । रोटरीका विविध आयामका सन्दर्भमा देखिएका कौतुहलको बारेमा जानकारहरुले जवाफ दिए ।
उपस्थिति रोटरियनहरुबीचमा चिनजान त भयो नै क्लबहरुले गरेका सेवा परियोजनाका बारेमा अनुभव आदान प्रदान भए ।
मनोरन्जनदेखि टयालेन्ट शो सम्मका कार्यक्रममा सहभागी रोटरियनहरुले उत्साहका साथ भाग लिए । सेवा परियोजना सञ्चालनका क्रममा देखिएका सम्भवाना र चुनौतिका विषयमा बहस भए । इतिहासमै पहिलोचोटि क्लब अधिकारीहरुले आफ्नो मताधिकारको प्रयोग गरे । लोकतान्त्रिक अभ्यासवाट क्लबले नै नयाँ नेतृत्वको चयन गर्ने परम्परा शुरु भयो । सम्मेलनले रोटरियन आइपी ढकाललाई रोटा वर्ष २०२७, २८ को डिस्ट्रिक्ट गभर्नरका रुपमा निर्वाचित गर्यो ।
समग्रमा रोटरीका प्राथमिकताका सात क्षेत्रमा सञ्चालित सेवा परियोजना देखि रोटरीका विविध आयामका बारेमा सम्मेलनमा सघन रुपमा बहसका सत्रहरु समेत सञ्चालन भएका थिए । सम्मेलनमा रोटरी डिस्ट्रिक्ट ३२९२ भूटानको गोपाल कमला राजभण्डारी रोटरी अर्वाड देखि सुनिति गोपाल आर्चाय अवार्ड समेत सोहि अवसरमा प्रदान गरिएको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले रोटरीको इतिहास देखि रोटरीले विश्व लगायत नेपालमा गरेका कार्यका बारेमा चर्चा गर्दै डिस्ट्रिक्ट सम्मेलनलाई अभूतपूर्व रुपमा सभ्य र भव्य बनाउन प्रत्यक्ष परोक्ष रुपमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका थिए ।
सम्मेलनले आम रोटरियनको रोटरीप्रतिको विश्वास र समपर्णलाई मजबुत त बनायो नै त्यसका अतिरिक्त रोटरीको सार्वजनिक छविलाई आम नागरिकका विचमा विस्तार गर्न समेत मद्वत पुर्याएको डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले बताए । शेरचनले सम्मेननबाट प्राप्त ज्ञानलाई आफना क्लबमा पुगेर व्यबहारिक रुपमा क्रियान्वयनमा लैजान आम रोटरियनहरु लाग्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘जे जति जानकारी, अनुभव र ज्ञान तपाईहरुले सम्मेलनवाट प्राप्त गर्नुभएको छ, त्यसलाई आगामी दिनमा आफुलाई, क्लबलाई र समुदायलाई रुपान्तरण गर्ने कार्यमा लगाउनुहुनेछ भन्ने विश्वास मैले लिएको छु, यो सम्मेलनवाट तपाईहरुले प्राप्त गर्नुभएको नयाँ उर्जाले नेपाली ग्रामिण समुदायको गुणात्मक रुपान्तरणमा टेवा पुग्नेछ भन्ने मलाई लागेको छ,’ डिस्ट्रिक्ट गभर्नर शेरचनको भनाइ थियो ।
सम्मेलनलाई यावत चुनौतिका विचमा पनि सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै सहयोगी हातहरुमा डिस्ट्रिक्ट कन्फ्रेन्स चेयर मधु आर्चायले आभार प्रकट गरेका थिए । रोटरीको आगामी १८ औँ सम्मेलन आगामी फेब्रुअरीमा पोखरामा हुनेछ ।












