काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान र नेटवर्क अफ रोटरी क्लब अफ ललितपुर एनआरसीएलले पुरुषमा प्रोस्टेट ग्रन्थी बढेपछि उत्पन्न हुने समस्या र प्रोस्टट क्यान्सर सम्बन्धी बहस चलाएको छ ।
शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी प्रोस्टेट ग्रन्थी बढदा आउने समस्या र प्रास्टेट क्यान्सर लगायतका सन्दर्भमा चिकित्सकद्वय प्रा.डा.नारायण थापा र डा.दीप लामिछानेले जानकारी गराएका हुन् । प्रोस्टेट ग्रन्थीको विस्तारबाट उत्पन्न हुृने समस्यादेखि देखि प्रोस्टेट क्यान्सरका कारण, लक्षण, पहिचान, उपचारपद्वति र प्रविधिका बारेमा उनीहरुले आफना प्रस्तुति राखेका थिए । सँगसँगै उनीहरुले नेपालमा यस रोगसम्बन्धि उपचारको अवस्थाबारे समेत बताएका थिए ।

प्रोस्टेटमा विभिन्न उमेरमा देखिने समस्याहरू विभिन्न किसिमका हुने उनीहरुको भनाइ थियो । उमेर बढ्दै गएपछि प्रोस्टेट ग्रन्थीको आकार बढ्दै जान्छ । ४० वर्ष कटेपछि नै प्रोस्टेट ग्रन्थीको आकार बढ्न थाल्छ । यसपछि विभिन्न खालका समस्याहरू आउन सक्छन् तर ५५/६० वर्षको उमेर नपुगी भने धेरै समस्या नदेखिने उनीहरुको भनाइ थियो । कसैलाई ४०, ४५ वर्षमा समेत समस्या देखिने तर सामान्य हिसाबले बुझ्ने भनेको उमेर बढेपछि प्रोस्टेट बढ्छ भन्ने उनीहरुको धारणा थियो ।
प्रोस्टेट ग्रन्थी बढेपछि आउने समस्याहरूमा पिसाबको धारा सानो हुने, पिसाबको लागि बल गर्नुपर्ने, ननिख्रिने, पिसाब फेर्न छिटोछिटो जानुपर्ने हुन्छ । कतिपयलाई पिसाब गर्नै नसक्ने, शौचालय जाँदैमा पिसाब चुहिने अनि राति धेरै पटक उठ्न पर्ने हुन्छ । कतिपयलाई पिसाब पोल्ने, पिसाब बन्द हुनेलगायतका समस्या हुने उनीहरुले जानकारी दिए ।

कतिलाई प्रोस्टेट क्यान्सर हुन्छ भने कतिलाई किड्नीमा समस्या हुन सक्छ चिकित्सकद्वयको धारणा थियो । कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले एनआरसीयलले लिएको पहलकदमीको लागि आभार प्रकट गर्दै नागरिकको कुनै पनि स्वास्थ्य समस्याका सन्दर्भमा सचेतना तथा उपचारका कार्यक्रममा रोटरीले सहकार्य गर्ने गरेको बताए ।
कार्यक्रम एनआरसिएलका अध्यक्ष मनोज बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने धन्यवाद ज्ञापन आरसी चन्द्रागिरीकी अध्यक्ष रोटरियन सरिता कार्कीले गरेकी थिइन् । कार्यक्रमको संचालन रोटरी क्लब अफ पाटन वेस्टका अध्यक्ष विदुर तिमिल्सनाले गरेका थिए । कार्यक्रममा एसियन फार्मासेटिक्ल्स प्रालिको समेत सहयोग रहेको थियो ।
कार्यक्रममा पूर्वगभर्नरहरु, डिस्ट्रिक्टका अधिकारीहरु, विभिन्न क्लबका सदस्य तथा आयोजक एनआरसियल भित्रका क्लबका अधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।












