काठमाडौं । खोटाङको त्रिधार्मिकस्थल हलेसीमा आइतबार साँझ भएको आगलागीमा एक हार्डवेयर पसलसहित तीन घर ध्वस्त भएको छ । आगलागीबाट करोडौँको क्षति भएको छ।
हलेसी तुवाचुङ नगरपालिका ७ स्थित हलेसी मन्दिरनजिकै रहेको पदम राईको पूजा हार्डवेयर पसलबाट आगलागी सुरू भएको थियो ।
आगो तीव्र रूपमा फैलिँदै जाँदा छिमेकी कैलाश राई र प्रकाशचन्द्र गिरीका घर समेत जलेर नष्ट भएको वडाध्यक्ष कमल गिरीले जानकारी दिए।
हलेसी बजारकै ठूलो मानिने पूजा हार्डवेयरमा मात्रै करिब पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। हार्डवेयर पसल पूरै जलेर नष्ट भएको छ भने अन्य दुई घरमा पनि ठूलो क्षति पुगेको छ । वडाअध्यक्ष गिरीका अनुसार आगलागीमा जलेका तीन घरमध्ये दुई कच्ची र एउटा पक्की भवन थिए।
घटनास्थलमै रहेका प्रमुख जिल्ला अधिकारी शिवबहादुर कार्कीले आगलागी सुरु भएको एक घण्टाभित्रै हार्डवेयर पसलका सबै सामान जलेर नष्ट भएको र आगोले जोडिएका दुई घरलाई समेत सखाप पारेको बताए।
स्थानीयले आगो नियन्त्रण गर्न घरका झ्याल, ढोका तथा छतमा पानी लिएर बसेका थिए। हलेसीमा पानीको अभाव भएकाले आगो निभाउन टाढाबाट ट्याङ्कर, ड्रमसहितका ट्याक्टर ल्याइएको स्थानीय सञ्जय राईले बताए।












