काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अरविन्दनाथ आचार्यको निधन भएको छ। उनको निधनको शोकमा सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुल कोर्ट) ले आइतबार सबै इजलासको सुनुवाइ स्थगित गर्ने निर्णय गरेको छ। उक्त निर्णयपछि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ भएन। सर्वोच्चमा आइतबार ३६२ वटा मुद्दा पेसीमा थिए।
सर्वोच्चका अनुसार, आचार्य २०४९ माघ १ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भई २०६० वैशाख १३ सम्म कार्यरत रहेका थिए। १९९५ वैशाख १४ गते काठमाडौंको डिल्लीबजार, मैतिदेवी फाँटमा जन्मिएका उनको शनिबार ८६ वर्ष ९ महिना १२ दिनको उमेरमा निधन भएको हो।













