भक्तपुर । रोटरी क्लब अफ चाँगुले शनिबार एकैदिन विविध कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका ४ स्थित ऐतिहासिक तथा धार्मिक सम्पदाको रुपमा रहेको चाँगुनारायण मन्दिर परिषर र शंख दह क्षेत्रमा एक कार्यक्रमको आयोजना गरी मन्दिर परिषरको सरसफाई, मन्दिर परिषर वरपर जथाभावी फोहोर नफालौं भन्ने सन्देश मूलक नेम प्लेट टाँस्नुका साथै बृहत् खुला रक्तदान, रोटरी कम्युनिटी क्रप्स आरसीसीको गठन तथा फोहोर मलाइ लेखिएको फलामका १० वटा डस्टबिन हस्तान्तरण गरेको छ ।
सो कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, डिस्ट्रिक्टका अधिकारीहरु, अन्य क्लबका अतिथि रोटरीयनहरु, क्लबकै पदाधिकारी तथा सदस्यहरु, क्लबका आरसीसी सदस्यहरु, स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

क्लबले एकैदिनमा चार–चार वटा फरक कार्यक्रम आयोजना गरेर ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षणदेखि मानविय सेवाका काममा देखाएको संवेदनशिलता प्रशंसनीय रहेको डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले बताए ।
शेरचनले क्लबले स्थापनाको छोटो अवधिमै देखाएको समुदायप्रतिको जवाफदेहिताले आगामी दिनमा क्लबले रोटरीको मर्मलाई आत्मसाथ गरेर अगाडि बढने संकेत मिलेको धारणा राखेका थिए ।
क्लबले स्थापनापश्चात पहिलो सेवाको परियोजना अन्र्तगत एकैदिन चार कार्यक्रम सम्पन्न गरेको हो । सुन्दर, सफा र समृद्व चांगुनारायणको परिकल्पनामा क्लबले सदैब सवै सरोकारवालासँग सहकार्य एवं हातेमालो गर्दै अगाडि बढने संकल्प लिएको क्लबका अध्यक्ष उत्तममनि पौडयालले बताएका थिए ।
कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए । क्लबमा हाल ४८ जना सदस्य रहेका छन भने क्लबको चार्टर गत सेप्टेम्बर २० तारिकमा भएको थियो ।













