काठमाडौं । बालकोटमा आफ्नै बुबा र भाइको हत्या गर्ने मिलन आचार्यले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । बुबा र भाइको हत्या गरेर शनिबारदेखि फरार रहेका आचार्यले मंगलबार बिहानै आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
प्रहरीका अनुसार उनी आफैले बालकोटमा बुबा र भाइलाई मारेको बताएका छन् । भक्तपुरको सूर्य विनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या भएको थियो ।
उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली आवश्यक सोधपुछका निम्ति त्यहाँ पुगेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।












