काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव गणेश विकले विविध प्रकारका उत्पीडनविरुद्ध एक हुन जरुरी रहेको बताएका छन् । सामाजिक परिवर्तन केन्द्रले काठमाडौंमा आयोजना गरेको सद्भाव सम्मेलनमा सचिव वि.कले नेपाली समाजको मूल जड जात प्रथानै रहेको भन्दै उनले जातले वर्गीय अवस्था देखाउने बताए ।
सुदुरपश्चिममा जति धनि महिला भएपनि छाउपडी बस्नै पर्ने र त्यो छाउ बसेको उपल्लो जातको महिलाले पनि दलितलाई विभेद गर्ने हुनाले उत्पीडनविरुद्धको यात्रा गाह्रो र मसिनो रहेको बताए ।
जनजातिहरुको मुद्दा पहिचानको र राष्ट्रियताको भएपनि दलितको मुद्दा डिग्निटीको रहेको उनले बताए । पछिल्लो समय भूमि सुधारको मुद्दा राजनीतिले छोडेर अहिले सिभिल सोसाइटीले बोकेको उनले बताए । कुनै निरंकुश शासकले दमन गर्यो भने मात्र पूर्ण सद्भाव रहने उनको भनाइ छ ।
विकले आफु सुदुरपश्चिम प्रदेश योजना आयोगको उपाध्यक्ष हुँदा महिलाको शिर्षकमा ६०–७० लाख राख्न खोज्दा महिला हिंसा विरुद्धको अभियान १६ दिनमा कसरी ६० लाख खर्च गर्ने भन्दै बजेट पास गर्न नमानेको र बल्ल बल्ल ३० लाख कायम गरेको प्रसंग समेत उठाएका थिए ।
उनले दलितको सरोकारवाला मन्त्रालय नै नभएको समेत बताए । मानवअधिकार आयोग बनाउनुपर्छ भन्ने आफु पनि एकजना भएको तर हालसम्म आयोगमा एकजना पनि दलित सदस्य हुन नसकेको विडम्बना रहेको बताए । बाध्यकारी अवस्था नहुँदासम्म समावेशी, समानुपातिकता मर्म अनुसार लागु हुन नसकेको अवस्था उनले उल्लेख गरे । गैसस, सिभिल सोसाइटीमै ३५ प्रतिशत महिला सहभागिता आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा मोहना अन्सारी, मिना पौडेल लगायतले मन्तव्य राखेका थिए । सद्भाव सम्मेलनमा देशैभरीबाट ७० जनाको उपस्थिति रहेको छ । सहभागीमध्येबाट विविध विषयमा प्रश्नहरु उठेका छन् । सम्मेलन काठमाडौंस्थित होटेल बसेरा बुटिकमा जारी छ ।












