काठमाडौं । शंकास्पद रूपमा भिजिट भिसामा युएई र कुवेत पठाइन लागेका २० जना युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फर्काइदिएको छ।
बिहीबार राति हिमालयन एयरलाइन्सको उडानबाट युएई र कुवेत जान विमानस्थल अध्यागमन कार्यालय पुगेका २० जना युवतीलाई फिर्ता गरेको कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले जानकारी दिए।
अध्यागमन कार्यालयले ती युवतीलाई मानव तस्करीका रूपमा खाडी मुलुक पठाउन लागेको आशंका गर्दै फिर्ता गरेको जनाएको छ।
ती युवतीहरू भिजिट भिसामा कुवेत र युएई जाने भन्दै विमानस्थल पुगेका थिए । जसमध्ये चार जना कुवेत र बाँकी १६ जना युएई जाने भनेर बोर्डिङ पास लिएर अध्यागमन पास लिन पुगेका थिए। उनीहरू पुगेको समय राति साढे आठ बजेदेखि नौ बजेको बिचको रहेको अध्यागमन अधिकृत अर्यालले जानकारी दिए।
उनीहरूमध्ये केहीको भिसा लागेको ठाउँ र बोर्डिङ पास लिएको ठाउँ फरक फरक पाइएको, भिसामा शंकास्पद अवस्था भेटिएको र कतिपय कार्यविधिसँग मेल नखाने अवस्थामा भेटिएकाले फिर्ता गराइएको अध्यागमन कार्यालयले जनाएको छ।












