नेपालको जेनजी आन्दोलन विश्वकै नजरमा परेको एउटा ऐतिहासिक घटनाको रूपमा दर्ज भएको छ। विश्वका विभिन्न मुलुकहरूमा पनि जेनजी आन्दोलनहरू भएका छन्, तर नेपालमा भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको यो आन्दोलनले जम्मा ३६ घण्टामै राज्य सत्ता उल्ट्यायो, जुन विश्व राजनीतिक इतिहासमै अभूतपूर्व घटना हो।
यति छोटो अवधिमा सत्ता पल्टाउने सामर्थ्य कुनै आन्दोलनले देखाउन नसकेको अवस्थामासमेत नेपाली जेन जीले यस्तो मिसाल कायम गरेको छ। यसले विश्व समुदायलाई समेत चकित पारेको छ। तर, प्रत्येक आन्दोलनका पछाडि केही स्वार्थ, उद्देश्य वा गहिरा कारणहरू लुकेका हुन्छन्। नेपालमा विगतमा पनि धेरै आन्दोलन भएका थिए, कहिले राणा शासन फाल्न, कहिले राजतन्त्र अन्त्य गर्न। तर यसपटकको आन्दोलन भने पूर्णतः भ्रष्टाचारको अन्त्य र स्वच्छ शासन प्रणालीको स्थापनाको उद्देश्य बोकेर आएको थियो। यसको मूल नारा नै थियो ‘भ्रष्टाचारी नेताको अन्त्य गरेर, भ्रष्टाचारमुक्त देश निर्माण।’
यससँगै सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक विकास गर्दै देशमै युवाहरूलाई रोजगारी र अवसर दिनु, सर्वसुलभ शिक्षा र स्वास्थ्य उपलब्ध गराउनु, र आफ्नै भूमिमा अटाउने वातावरण सिर्जना गर्नु यो आन्दोलनको मूल लक्ष्य थियो।
नेताको विलासी जीवन र जनताको पीडा
नेपालमा पछिल्लो समय धनी वर्ग र नेताहरूको जीवनशैली अत्यन्तै विलासी हुँदै गएको छ। नेताहरूका सन्तानहरू पढाइको नाममा विदेश पठाउने, त्यहाँ भ्रष्टाचारबाट कमाएको सम्पत्ति थुपार्ने प्रवृत्ति बढ्दो छ। देशमै बस्ने नेताहरू पनि महँगा गाडी, बंगला, सुविधा सम्पन्न जीवनशैलीमा रमाइरहेका छन्। तर, त्यही नेताहरूको कारण आम जनता आर्थिक कष्टमा परिरहेका छन्।
राजनीति अब सेवालाई होइन, भ्रष्टाचार गरी खाने भाँडोमा परिणत भएको छ। गाउँदेखि राजधानीसम्म, विद्यालयदेखि विश्वविद्यालयसम्म दलका नेताहरूले आफ्ना कार्यकर्तालाई कार्यालयमा आवश्यकताभन्दा बढी भर्ना गर्ने, स्वार्थका आधारमा रोजगारी वितरण गर्ने, र स्वतन्त्र कर्मचारीहरूलाई दबाबमा पार्ने काम बढ्दै गएको छ। सर्वसाधारणको काम समयमै नगरी, घूस र पहुँचको भरमा मात्र सेवा दिने प्रवृत्ति फैलिएको छ।
स्वार्थ र दलाल प्रवृत्तिको जालो
नेपालको राजनीतिक संस्कृतिमा एउटा खतरनाक प्रवृत्ति बढ्दो छ, दलाल र स्वार्थ समूहको नियन्त्रण। अहिलेका धेरै नेताहरू पार्टी वा देशको हितका लागि होइन, व्यक्तिगत स्वार्थका लागि राजनीतिमा छन्। ठूला नेताहरूको छायाँमा रहँदै उनीहरू आफ्नो व्यापार, उद्योग, र निजी स्वार्थ बढाउन राजनीतिलाई हतियार बनाइरहेका छन्। त्यही कारणले गर्दा भ्रष्टाचार, अनियमितता, र बेथितिहरू झन् बढ्दै गएका छन्।
जेनजी आन्दोलन यिनै प्रवृत्तिहरूको बिरुद्धमा उठेको जनताको आवाज थियो। नेपाली जनताले लामो समयदेखि अनुभूत गर्दै आएको अन्याय, असमानता, र अवसरको अभावका कारण यो आन्दोलनको समर्थन व्यापक भयो। सबैले आशा गरेका थिए, ‘अब भ्रष्टाचारको अन्त्य हुनेछ, देश नयाँ दिशातर्फ अघि बढ्नेछ।’
आर्थिक अपराधको पर्दाफास
जेन जी आन्दोलनको समयमा भएका केही घटनाले देशकै अर्थतन्त्रलाई हल्लाइदिएको छ। अर्थविद्हरूका प्रारम्भिक अनुमानअनुसार, आन्दोलनका बेला केही नेताहरूको घर र व्यवसायिक प्रतिष्ठानहरूमा आगजनी हुँदा करिब ६ खर्ब ५ अर्ब रुपैयाँको चलनमा रहेको रकममध्ये २५ देखि ३० प्रतिशत नोटहरू नष्ट भएका छन्। यसको अर्थ, कम्तीमा १ खर्ब २५ अर्बदेखि २ खर्ब रुपैयाँसम्मको रकम सिरानीमुनि लुकाइराखिएको थियो।
यो तथ्य आफैंमा चकित पार्ने खालको हो। जब नेताहरूले आफ्नो घरभित्र यत्रो धन थुपार्छन्, तब देशको अर्थतन्त्र कसरी चलायमान रहोस्? यही कारणले जनतामा आक्रोश चुलिएको हो, जसको परिणाम जेन जी आन्दोलन बनेर विस्फोट भयो।
सडकमा शक्ति देखाएको जेन जी, तर संस्थागत रूपमा किन कमजोर?
जेन जी आन्दोलनले सडकमा असाधारण शक्ति प्रदर्शन गर्यो। तर, संस्थागत रूपले त्यसलाई व्यवस्थित गर्न नसक्नु अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ। सरकार गठनमा जेनजीको सहमति भए पनि उनीहरूले कुनै मन्त्रालयको नेतृत्व लिन तयार भएनन्। उही पुराना नेताहरू पुनः अघि सारिँदा जनतामा शंका र असन्तुष्टि बढेको छ।
अनेक कारणले जेन जी नेतृत्व अहिले अलमलमा परेको छ। आन्दोलनका क्रममा ठूलो मानवीय र भौतिक क्षति भएकोले उनीहरू आफैं आत्म-समीक्षा गरिरहेका छन्। स्पष्ट नीति, एकता र दिशाको अभावले आन्दोलनको संस्थागत रूप कमजोर बनेको छ। तर, यसले पुराना दलभित्र पनि ठूलो चेतना जगाएको छ।
अब राजनीतिक पार्टीहरूको रूपान्तरण, नेतृत्व परिवर्तन, र संरचनागत सुधारबारे बहस सुरु भएको छ। दलाल, विचौलिया, र माफियाको चंगुलमा फँसेको प्रणालीलाई भत्काएर नयाँ राजनीतिक यात्रा सुरु गर्ने माग जनतामाझ उठेको छ।
नयाँ संरचना र भावी बाटो
जेन जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले देश पुनर्निर्माणको जिम्मेवारी पाएको छ। राजनीतिक दलका नेताहरू अब विस्तारै सडक र घर–डेरामा सिमित भइरहेका छन्। तर अन्तरिम सरकारले अब गर्नुपर्ने पहिलो काम भनेको भ्रष्टाचार छानबिन आयोग गठन गर्नु हो। यो छानबिन केवल देखावटी नभई, संरचनागत रूपमा गहिरो हुनुपर्छ।
भ्रष्टाचार कुनै सामान्य घटना होइन; यसको जरामा दलाल, माफिया, र कर्मचारी सञ्जाल बसेका छन्। तसर्थ, उनीहरूको सम्पूर्ण जालो भत्काएर दोषीमाथि कडा कारबाही गर्नुपर्छ। जेन जीको माग अनुसार, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, प्रदेशहरूको पुनर्समीक्षा, गैर-जेन जीहरूद्वारा गरिएको दुरुपयोगको छानबिन, र भ्रष्ट नेताहरूलाई भविष्यमा नेतृत्वमा आउन नदिनु — यी सबै कदम तुरुन्तै लागू गरिनुपर्छ।
त्यस्तै, जेन जी नेतृत्वले पनि निरन्तर निगरानी र जन–दबाब कायम राख्नुपर्छ। संरचनागत सुधारका ठोस परिणाम देखिएपछि मात्र यो आन्दोलनलाई सफल भन्न सकिन्छ। त्यसपछि मात्र नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, र राजनीतिक क्षेत्रमा नयाँ मोड लिनेछ।
इतिहास निर्माणको अवसर
भ्रष्टाचारको अन्त्यसँगै नेपालले नयाँ सुरुवात गर्न सक्छ। विचौलिया, ठेकेदार, र घुसखोरीमा रमाउनेहरू उत्पादन र निर्माणमा लाग्नेछन्।
व्यवसाय, उद्योग, र उद्यमशीलता पुनः चलायमान हुनेछ। यसपछि मात्र युवाहरूको श्रम र योग्यता बराबरको सम्मान पाउनेछन्।
युवाले आफ्नो देशमै अवसर पाउने, शिक्षा, स्वास्थ्य र रोजगारी सर्वसुलभ हुने वातावरण बनेपछि नेपालको विकासको यात्रा तीव्र गतिमा अघि बढ्नेछ। त्यो क्षणमा जनताले सुशासनको अनुभूति गर्नेछन्। नेपालको जेन जी आन्दोलन तब मात्र सफल ठहरिनेछ, जब यसको परिणामले नयाँ, स्वच्छ र पारदर्शी राजनीतिक प्रणाली निर्माण गर्नेछ।
त्यो दिन नेपालले केवल भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने छैन, विश्वकै लागि एउटा प्रेरणादायी उदाहरण बन्नेछ, जहाँ युवाशक्ति, जनशक्ति र न्यायको आवाजले भविष्य लेख्नेछ।












